विदुर चालिसे, लघुकथा: गाेदान, नेपाली लघुकथा

लघुकथा: गाेदान

~डा. विदुर चालिसे

विदुर चालिसे
विदुर चालिसे

डा. विदुर चालिसे –“टम टमाटम टटट् टटटम, पिँपिरिरिरी… !” एउटा ढाेली छठकाे साँझकाे बेलामा सञ्जे जगाइरहेकाे थियाे । उसकाे अनुहार धेरै समयदेखि सुकेर कालै देखिन्थ्याे । सुस्त एवं शुष्क उसका हेराइमा कुनै आशा र भराेसा थिएन नै । बरू यति मात्रै हाे, उसँगै उसका परम्पराहरू साैर्य अक्षका विषाक्त किरणहरू झैं घुमिरहेका थिए । महन्थले भूईंतिर जल छर्कँदै भन्याे ।

–“परतिर हट, छाेइएला मलाई !” महन्थकाे शरीर भर भरिएकाे परम्परागत हठ-धार्मिक कुण्ठा, पिंडालुकाे गाभाकाे झैं गुफाे भएर उसकाे परमादेश त्यसै चल्न थाल्याे । ढाेलीकाे ट्याम्काे बजिरहेकाे थियाे । महन्थकाे मन्त्र जाेडले साेही आवाजमा मिसिएर घन्किरहेकाे थियाे । यत्तिकै रसायन शास्त्रका प्राेफेसर आइपुगे । सञ्जे जगाउने ध्वनि र मन्त्रकाे बैंसालु मिश्रणले सुनिएकाे कर्णप्रिय लय आफ्नै हृदय छेउ गुन्जिएपछि एक्कासी कराए ।

–“ओ.. संयुज्यता !, संयुज्यता याने भ्यालेन्सी !!”

–“लाै ! प्राेफेसर त बाैलाए कि क्या हाे ? त्यसै महान धर्मरक्षक लाई भ्यालेन्सी भन्ने ? उल्लु कहीँका ! बरू भ्यालेन्टाइन भनि दिएकाे भए त मजाले सहनुहुन्थ्याे नि !” महन्थकाे वचन उनका लागि हेय एवं अपमानित भएर कानमा गुन्जन लाग्याे तर ढाेलीलाई भने कुनै वास्ता थिएन । प्राेफेसर चक्कराएर शालीनता पूर्वक महन्थलाई सम्झाए ।

–“परमेश्वर ! याे पनि संख्या बृध्दि सिध्दान्त नै हाे त ! पुरानै मात्रले काम चल्दैन नि ! अब समन्वयबाट महानता बृध्दि गराैँ के ! ढाेली अझै बजाऊ ढाेलकाे टम टम टटट् टटटम !” महन्थकाे मठमा कर्कस स्वरले किर्थाहरू एकाेहाेराे नबुझिने धुन निकालिरहेका थिए। त्यसपछि प्राेफेसरले अपमान भएकाे मनकाे जलनलाई जुरूक्क उचालेर साँझकाे माैसममा छाेडि दिए ।

–“हाेइन, हाेइन ! बरू अचम्मसँग जनताकाे देह तरङ्ग उठ्याे ! अब जनतामा समन्वय सिध्दान्तकाे विकास भयाे, परमेश्वर !” ढाेली र महन्थ ढाेंगी समाजका फरकफरक पात्रहरू नै थिए । महन्थले प्राेफेसरकाे फेरि साताे खाँदै भने ।

–“भाँडवाला प्राेफेसर ! ट्याम्काेकाे टमटम र मन्त्रकाे दम कहाँ एकै हुन्छ ? उल्लुका पठ्ठा !” झकिझकाउ छठकाे समयमा विजुली बत्तीका तरङ्गहरू टाढा टाढासम्म पुगेका थिए । साँझमा अस्ताउन लागेकाे सूर्यलाई धर्मभीरूहरू अर्घ दिइरहेका थिए । सूर्यकाे जति जति बन्दना गरिन्थ्याे, त्यति नै सूर्य टाढा पुगिरहेका थिए । चकमन्नता बढ्दै गएकाे थियाे । रातकाे अर्धचन्द्र शिथिल भएकाे तापले लर्बर गरेर जबरजस्ती उदाउन खाेजिरहेकाे थियाे । छठकाे समयकाे याे पलमा भक्तिनीहरूलाई कष्टकर ब्रतमा देख्ने जाे काेही पनि भावुक हृदयले हेरेर भन्थे ।

–“समाजलाई थाम्न कति सुन्दर ध्यान गर्छन् यिनले ? सुन्दर सलाम छ यिनलाई !” ढाेलीले जगाएकाे सञ्जेमा जागा बसेका ब्रतालुहरू टाढाटाढा साेचिरहेका थिएनन् । महन्थले ब्रतालुहरूलाई हतार हतारमा आएर समाजकाे रक्षाका लागि मूलमन्त्र भने ।

–“लाै ! अब साइत भयाे ! गाेदान सुरू गरूँ !” आज पनि रूढ ढाेलीकाे भागमा एकसुकाे परेन। सुरक्षित समाजमा फेरि अर्काेदिन ढाेलीले चुपचाप ढाेल ठाेकिरहन्थ्याे र रसायन शास्त्रकाे रसायनिक प्रतिक्रिया नमिलेर जीवनकाे अन्तिम नारा लगाइरहन्थ्याे ।

–“टटरर टरर्र टमटम टर्रटर्र टर !”

Read more:

One thought on “विदुर चालिसे, लघुकथा: गाेदान, नेपाली लघुकथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: