लघुकथा: हुन्छकाे सपना, डा. विदुर चालिसे

लघुकथा: हुन्छकाे सपना

~डा. विदुर चालिसे

लघुकथा: हुन्छकाे सपना
लघुकथा: हुन्छकाे सपना

पलेंटी मारेर बसेकाे मूर्तिझैं मान्छेले हात फैलाइरहेका नजर बन्द आशामुखीहरूलाई भने ।

–“लाै ! लाै !! पक्का भइहाल्छ नि तिम्राे काम !” एउटा आशामुखीले टाउकाे निहुरायाे । घाेप्टेर दण्डबत गर्याे । अनि सराउँदै भन्याे ।

–“भगवानै प्रकट हुनुभयाे, उहाँ त !” अर्काे आशामुखीले त आफुभन्दा ठुलाेबाट पहिलाे चाेटी यस्ताे आश्वासन पाएकाेले दङ्ग थियाे । उसले झन मज्जैले थप्याे ।

–“उहाँ भगवान नभइदिएकाे भए हामीजस्ता गरिब गुरूवाकाे हितमा कस्ले पाे सहयाेग गर्थ्याे र ? उहाँ भगवान हुनुहुन्छ र पाे हामी छाैँ त ! नत्र बाँच्नै पर्ने थिएन हामीले !” अनि बाँकी रहेका सबैले आआफ्नै प्रकारले सर्हना गरे। कसैले भगवान, कसैले दाता, कसैले परमेश्वर, कसैले दयालु र कसैले त रक्षककाे उपाधि प्रदान गरे । उनीहरू केहीदिन आ-आफ्नाे आश्वासनका लागि पर्खिरहे तर कामकाे निधाे कतै नदेखेपछि उनीहरू खासखुस गर्न साेही मूर्ति झै पलेंटीमा बसेकाे मान्छे नजिक पुगेर एक एक गरी साेध्न लागे ।

–“के भयाे हजुर मेराे काम ?”

–“भन्दिएकाे छु, हुन्छ हाेला !” उनकाे मठाधीस प्रबृत्ति निकै जड बनेकाे थियाे । साे मान्छेले थप आशीर्वादका लागि तत्काल माेबाइल थिचे अनि गुनगुन गरेर बाेलेपछि आशामुखीहरूलाई एकएक उत्तर दिएर बाेले ।

–“गर्दैछु ! प्रयास हाे, हेराैँ !” आशामुखीहरूकाे अनुहार पहिलाभन्दा केही निस्तेजका साथ निन्याउराे देखिन थाल्याे । कतिका विश्वासहरू अविश्वासमा रूपान्तरण हुँदै गयाे । कसैले आफ्नाे काम हुनेमा शङ्का एवं संसय देखे । तैपनि उनीहरूकाे काेशिस कतिपयकाे सन्दर्भमा कायमै थियाे । केही विश्वास बाेकेका आशामुखीहरूले निकै नै धाएपछि एउटाकाे काम बन्नेजस्ताे देखियाे। तब पलेंटीमा मूर्ति झैं बसेकाे मान्छेले जुँगा ठाडाे पारेर खाेकिहाल्याे ।

–“बुझ्नु भाे ? के गर्नु ? बजार यस्तै छ नभनी पनि नहुने ! काम गरिदिनेलाई हात खाली पनि गर्न भएन ! तपाईं आफैले बुझेर केही त गरिदिनै पर्याे । नत्र त मेराे नै इज्जत जान्छ ! लाै अब केही मिलाइदिने तपाईकाे जिम्मा सबै !” आशामुखीकाे सपना त्यसै एकाएक खङ्ग्र्याङखुङ्ग्रुङ भयाे । उसका नशाहरू चिटचिटाउन थाले । लर्बरिदैं बिस्तारै मूर्तिकाे छेउबाट उठ्याे र चिच्याउँदै करायाे ।

–“उडायाे सपना सबै हुरीले !” टाेलमा ठुला मान्छेकाे चरित्र बारे व्याख्यान चलिरहेकाे थियाे । सबै आशामुखीहरू भगवानकाे व्याख्यान झै सुनिरहेका थिए । उनीहरूले थक्क थक्क गर्दै चुकचुकाए अनि सुइय गर्दै मन मनै भने ।

–“हुन्छ भन्ने पनि सपना हुँदाेरहेछ !” पलेंटीमा बसिरहेकाे मूर्तिझै मान्छे फेरि सबैलाई भनिरहेकाे थियाे । उसका अगाडि विकराल दुर्घटनाकाे दृश्य थियाे ।

–“अब त कसम भयाे ! काम जसरी नि गर्नेछु ।” सडकमा हिंडिरहेकाे बाैलाहाले गिज्याउँदै मूर्ति झैं मान्छेलाई देखाएर भन्याे ।

–“हे ! हे !! उहाँ ? उहाँ त अत्यन्तै इमान्दार मान्यवर माननीय हुनुहुन्छ !, हजुर जदाै !” पलेंटी कसेर मूर्ति झैं बसेकाे मान्छेकाे स्वरूप एकछिन पछि हावाकाे जाेडले त्यसै उडायाे र डङ्ग्रङ्ग ढलायाे । उनकाे मुख बाट पनि एक सासले आवाज निस्किरहेकाे थियाे ।

–“जैसा तपना वैसा सपना !”

लघुकथा: सर्वसत्ता ~डा. विदुर चालिसे

लघुकथा: सेफकाे धन~डा. विदुर चालिसे

3 thoughts on “लघुकथा: हुन्छकाे सपना, डा. विदुर चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: