डा. विदुर चालिसे, नेपाली लघुकथा: च्यापुकाे चिउरा

नेपाली लघुकथा : च्यापुकाे चिउरा

~डा. विदुर चालिसे

डा. विदुर चालिसे, नेपाली लघुकथा: च्यापुकाे चिउरा
डा. विदुर चालिसे, नेपाली लघुकथा: च्यापुकाे चिउरा

डा. विदुर चालिसे: सन्तानकाे कहिल्यै जगेर्ना गर्न नसकेका पण्डितकाे परिवारमा नयाँ उत्सवकाे शुरू हुने दिन थियाे । पण्डित त मख्ख थिए नै, जेठी पण्डित्नी खसेदेखि छाेराकाे लालन पालनमा खटाइएकी कान्छी पण्डित्नीकाे काेखबाट कुनै सन्तानले वरदान पाउन सकेनन् । त्यसैले जेठीकाे छाेराेलाई स्याहार्दा स्याहार्दै कहिले काहीँ मनमा चसक्क लाग्थ्याे ।

–“के गर्नु आफ्नाे काेख बाँझै छ ! साैताकाे छाेराकाे भविश्यमा के भर छ र ?” एकदिन आफैले स्याहारेकाे छाेराकाे विहे भयाे । विहेकै दिनमा उनले बुहारीलाई भित्र्याउँदा ढाेकैमा भन्न पुगिन् ।

–“नयाँ दुलही त कस्ताे ढङ्ग नभएकी ! सबैले देख्नेगरी हँसिलाे बन्नु नि !” कान्छी पण्डित्नीकाे लवजले जमुनालाई चस्का पर्याे । उनलाई गँवार र असभ्य भएकाे भान भयाे । सासुले पुलुक्क अनुहारमा हेरेपछि दुवै बीच छुद्रताकाे इगाे यतैबाट माैलाउन शुरू गर्याे । पण्डित्नीकाे रवैया, खटनपटन र राखनधरनकाे साँचाे आफ्नै हातमा थियाे । छुद्रताकाे उचनीच बीच समय भएपछि जमुना सुत्केरी भइन् ।

–“क्या ढङ्ग छैन है ? के भन्ने अब ! शिशु काले घाममा डढेर खुत्रुक्कै मर्ला, हाेस् पुर्याउनु है ? भन्दिया छ !” उनले बुहारीलाई हल्का ठेस्याएर भनिन् । उनकाे मनमा पाप धर्म के थियाे थाहा थिएन तर बुहारीकाे मनमा हेपिएकाे झन आभास भयाे । आफ्नाे ढङ्ग नपुगेर उनलाई अल्लारे ठानेकाे कुराले पिन्च भयाे । सुत्केरीबाट भर्खर उत्रन खाेजेकी जमुनीले मनकाे तिक्तता पाेखिहालिन् ।

–“बुहारी त मन परेन परेन ! याे शिशुले के खाइदिएकाे छ र ?” पण्डित्नीलाई एकाएक ज्वराे नै चढ्याे । उनले हातमा लिएकाे शिशुलाई तेल लगाउने कचाैरा हुर्याइदिइन् । हुर्याएकाे तेलकाे छिटा शिशुकाे मुखमा पर्याे । उनले तत्कालै मनकाे आवेगसँग मान्यवरकाे अपमानित भयले कराइन् ।

–“पानी मूलकाे खानु, बुहारी कुलकाे विहे गर्नु भनेर उहिलेका मान्छेले भन्थे हाे रैछ !” जमुनालाई अर्काेचाेट लाग्याे । उनले मनमनै जेसुकै सम्झे पनि माइतीलाई गरेकाे हेलाँ पटक्कै खप्न सकिनन्। उनले पनि मुख फरक्कै फर्काइन् ।

–“कस्ताे शुद्रहरूकाे घरमा परिछु, हे भगवान !” विहान भरिकाे घाेचपेच, ठासठुस, भनाभन र उचनीच शैलीले दिन घर्कन लागेकाे थियाे। आरिस, आवेग र आराेपका बीचमा उनीहरूले शिशु कालेकाे पास्नी सक्याए । पास्नीमा जमुनाकाे माइतीहरू उपस्थित भएका थिए । सम्धिनीले पण्डित्नीलाई साेधिन् ।

–“हजुर आरामै हाेइसिन्छ हजुर ?”

–“हजुरहरू जस्ताे कुल घरानकाे नाताले सन्चै छ,भन्नुपर्याे !” घाेचपेच, ठासठुस र दरिद्रताका वचनहरू सुनेपछि उनीहरूले बिस्तारै अपमान महसुस गरे । त्यहाँबाट निस्केर एउटै शङ्का गरे ।

–“आफ्नै जस्ताे साैतेलाे नहुने रैछ!,जस्ताे आफू उस्तै च्यापु !” उनीहरू नस-नाताकाे इज्जत सम्मानका लागि केही नबाेली सबैका आँखामा रसाएकाे आँशुकाे थाेपा बाेकेर आफ्नाे बाटाे लागे । झ्याल झ्यालबाट हेरिरहेका छिमेकीहरू यतिबेला एउटै निष्कर्षमा पुगेर खासखुस गरिरहेका थिए ।

–“छुद्रताकाे पास्नी नगरेकाे भए पनि हुन्थ्याे, बरू ! च्यापुकाे चिउरा अड्केपछि यस्तै हुन्छ !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: